अबको एनआरएनए यूके नेतृत्व

In Editor's choice, NRNA News

जगन कार्की

आसन्न गैरआवासीय नेपाली  संघ यूकेको चुनावी माहोल तात्दै गएको देखिन्छ । नेतृत्व दावी गर्नेहरु बिस्तारै खुल्दै आउनेक्रम चलिरहेको छ । एनआरएनएले भूकम्प लगायत बिबिध मानवीय संकटमा गरेका उल्लेख्य काम, नागरिकता लगायत गैर आवासीय नेपालीहरुका हक हितमा उठाउने अवाजका कामहरुका दृस्टान्तले यसको भूमिकालाई बलियोसंग स्थापित गरिदिएको छ । आगामी सेप्टेम्बर १४ को आठौँ  महाअधिबेसन सम्म आइपुग्दै गर्दा यसले यसका उद्देश्यहरु पुरा गर्ने काम चरणवद्धरुपमा व्यवहारमा भन्दा औपचारिकतामा सिमित हुंदै आएको आभास दिएको छ । बिबिध स्वार्थ समूहले संघलाई कब्जा गरेर चलाउने परिपाटी बिकसित हुँदै गएको देखिन्छ ।

सन् २००५ देखि उल्लेख्य रुपमा बढ्दै आएको नेपालीहरुको जनसंख्यासंगै बेलायतको नेपाली समाजमा झल्किन थालेको नेपालको प्रत्यक्ष सामाजिक परिवेश शिशेष गरेर फुट र गुटको राजनीतक संस्कारले एनआरएनए पनि अछुतो रहन नसकेको देखिन्छ । यसको नेतृत्व गम्भीर फुट बेहोर्दै एकतातर्फ बढेको अवस्थामा बेला बखत विगतका तिक्तताले यसको गतिमा बाधा ब्यवधान आउनु स्वभाविक हो र विविध समस्या र परिस्थितिहरु बीच अनवरत लागिरहनु हुने वर्तमान अध्यक्ष योग कुमार फगामी  र उनको टिमले खेलेको भूमिका उत्साहजनक नदेखिए पनि समग्र रुपमा आफुले सकेका प्रयासहरु अनवरत रुपमा गर्दै आएको देखिन्छ  ।

लेखक : जगन कार्की

यसै सेरोफेरोमा विभिन्न व्यक्ति र प्रवृतिहरुको नेतृत्व दावा गर्ने नयां शैली झल्किन थालेको छ । सामाजिक सञ्जाल र अनलाइन पत्रिका मार्फत उम्मेदवारी सार्बजनिक गर्ने वा रेस्टुरेन्टमा पत्रकार सम्मेलन मार्फत उमेद्ववारी सार्वजनिक गरिने परिपार्टी बढेकोले पत्रकार मित्रहरुलाई यो ३ महिना राम्रैसंग चुनाव लाग्ने देखिएको छ भने अर्को तर्फ सामाजिक संजालको प्रभाव यसपालाको चुनावमा राम्रैसंगपर्ने देखिएको छ ।

विभिन्न राजनीतिक, जातीय, क्षेत्रीय परिवेशमा विभाजित बेलायतको नेपाली समाजमा हालसम्म ५ किसिमका प्रमुख प्रवृतिहरु देखा परेका छन् ।

१) जातीय संगठनहरुको बलमा अगाडि आउन चाहने प्रवृतिः 

जसरी ०६२, ०६३ को आन्दोलन परिवेशसंगै जात जातिका दबिएका आवाजहरु उठे त्यस्तै गरि प्रवासमा सम्भवतः सबैभन्दा ठूलो जनजातिको बाहुल्यता रहेको बेलायतमा त्यसको प्रभाव नरहने कुरा भएन । अझ रमाइलो कुरा त बेलायतको नेपाली समाज नेपालको जातीय संरचनाको तुलनामा ठ्याक्कै उल्टो पाइन्छ अर्थात् जनजातीहरुको जनसंख्या बहुमत रहेको र खस, आर्य र मधेशी समुदायहरु अल्पमतमा रहेको पाइन्छ । यस परिपेक्षमा यहां रहेका ठूला जातीय संघसंस्था र ब्यक्तित्वहरुले एनआरएनलाइ समावेशी चरित्र दिने परिक्षा भने पास गर्नुपर्ने देखिन्छ । 

स्वभाविक रुपमा यहांपनि जातीय संघ संस्थाहरुको पकड र आफ्नो जात जातिको नेतृत्वमा संघसंस्थामा वर्चस्व स्थापित गरि आफ्ना अभियानहरु अघि बढाउने प्रयास भएको पाइन्छ । 

अहिले पनि अमुक जातको, अमुक संस्थाको समर्थन र आशिर्वाद रहेको र आफू निर्वाचित हुने भन्दै उमेद्ववारहरु आउने क्रम एकातिर छ भने अर्को तर्फ पारिवारिक सम्बन्ध र जालोले अनि संस्कृतिक चाड पर्व सामूहिक मनाउने जस्ता भावनात्मक सम्बन्धले यस किसिमको नेतृत्वलाई बल पुरयाएको देखिन्छ ।

२) राजनीतिक दलको आडमा अगाडि बढ्न खोज्ने ः 

भर्खरै सकिएको २ चरणको निर्वाचन परिणामसंगै ठूलो जनमत भएको दल, सत्तासिन दलहरु र अन्य दलहरु आ आफ्नै किसिमका गठबन्धन र राजनीतिक दाउपेचहरुमा नेतृत्व हत्याउने परिपार्टीले पनि ठूलो बजार लिएको देखिन्छ । कांग्रेस नजिक संगठन र व्यक्तिहरु खुलेर मैदानमा निस्किएको देखिन्छ भने नेकपा निकट संस्था मौन रणनीतिक चलखेलमा रहेको देखिएको छ । नेपालमा हुर्किएको अनावश्यक समीकरण र ध्रुवीकरण खेल यहां पनि खेलियो भने दीर्घकलिन रुपमा एनआरएनको उद्देश्य र काम कारबाहीमा नराम्रो असर गर्ने देखिन्छ ।

३) अलिअलि कमाईको  रवाफमा बिना दक्षता अगाडि बढ्न खोज्नेः

सबै कुराले सम्पन्न भएपछि केहि योगदान गर्न लालयित हुनु स्वभाविक हो तर आफ्नो दक्षता नभएको क्षेत्रमा बसेर केहि गर्छु नाम आउंछ, पैसा फयांकेर मान्छेलाई काम लगाउंछु भन्ने सोच र प्रवृति पनि एनआरएनएमा देखा परेको छ । यस्तो प्रवृति व्यक्तिमा हुनु स्वभाविक हो तर यस्ता व्यक्ति र प्रवृतिलाई मुख्य पद र जिम्मेवारी सर्लक्क छोडिदिनु, यस्तै प्रवृतिहरु हावी हुंदै जानु चाहिं जिम्मेवार समाज र व्यक्तिको गैर जिम्मेवारीपन हुन जान्छ ।

४) बुद्धि र दक्षता भएका तर पैसा नभएका ः

बेलायतको नेपाली समाजमा यो प्रवृतिको पनि बाहुल्यता रहेको छ जो बढी आफंै आफ्नो काममा तल्लिन हुने गर्दछ र उसलाई गर्न जरुरी हुने गर्दछ । बेलायतको राजनीतिक परिपेक्षमा पनि आफ्नो पेशा ब्यवसाय र आर्थिक रुपमा अन्तरनिर्भर नभई राजनीति तथा समाजसेवालाई प्राथमिकतामा राखिन्न, त्यस्तै गरेर अलिक दक्ष र पेशाकर्मीहरुले एनआरएनमा केहि योगदान गर्न चासो देखाएको पाइन्न भने एन आरएनएको नेतृत्वले पनि पैसा र पहुचंलाई बढि ध्यान केन्द्रित गरेको हो कि भन्ने आभास संस्थाको बिधान लेख्नसम्म योगदान गरेका डा सूर्य सुबेदीले गत महिना ग्लोबल पोलिसी फोरमको एक अन्तरर्बार्तामा बताउनु भएको थियो भने डा. चन्द्र लक्सम्बा लगायत बुद्धिजीविहरुको धारणा पनि एनआरएनए बुद्धि र दक्षता भन्दा धन केन्द्रित हुंदै गएको हो कि भन्ने छ ।

एक दक्ष व्यक्तिलाई काम गर्ने अवसर दिएको खण्डमा पैसामात्र ठुलो कुरा भन्ने हुंदैन तर एनआरएन जस्तो संस्था चलाउन हरेक मिटिंग र सेमिनार संयोजन गर्न, चन्दा र डोनेसनका लागि त्यतिकै आर्थिक भार पर्ने अर्को पाटो छ । लगभग अहिलेको अवस्थामा एनआरएन यसका क्रियाकलाप, नेतृत्व र प्रवृतिलाई मध्यनजर गर्दा एक चन्दा उठाउने र खर्च गर्ने संस्थाको रुपमामात्र अघि बढि रहेको हो कि भन्ने भान हुने गरेको छ । अर्को तर्फ नेतृत्वमा केहि गर्ने इच्छा शक्तिको पनि जरुरी हुनुपर्ने त छंदै छ । चुनिएका प्रतिनिधिले काम गर्न नसक्नेगरि चन्दा र भत्ता असुली गर्ने, अक्षमहरुलाई पोस्ने र सक्षमहरुलाई निरुत्साहित गर्ने सबै विकृत प्रवृतिहरुलाई सन्तुलनमा ल्याउन संस्थागत विधिविधान फेरबदल गरेर वा विभिन्न दीर्घकालिन रणनीतिक कार्यक्रमहरु मार्फत एनआरएनए यूके अगाडि बढ्नु पर्ने देखिएको छ । अझ वर्तमान कार्यसमितिले जांदा जांदै एउटा अनलाइन सर्भे गरेर आफ्नो काम, संस्थाको मुल्यांकन र जनअपेक्षाको सर्वे गरेर सोअनुरुप सुधारको पहल अघि बढाइदिए उत्तम हुने थियो ।

५) समाजमा केहि योगदान गर्न चाहने, दक्षता र सम्पन्न भएको नाम र राजनीति मात्र होइन सेवाभावले अघि बढ्न चाहनेः

पाचौं प्रवृतिको समूह बेलायतमा उल्लेख्य देखिएको छ । यो प्रवृति न ठूला कुरा गर्न मन पराउंछ न अरुले गरेको मन पराउंछ । बरु चुपचाप काम गर्न रुचाउंछ । बेलायतको स्थानीय संस्कृति अनुरुप क्षमता र दक्षताले अघि बढ्ने सेवाभावले जिम्मेवारी आइलागे निभाउने देखिन्छ । यस प्रवृत्तिलाई एनआरएनएले आकर्षित भन्दा विकर्सित गर्दै लगेको पाइन्छ ।

केहि विकृतिका कुरा

धेरैले अध्यक्षको उमेद्ववारी घोषणा गरेर उपाध्यक्ष सुनिश्चित गर्ने अथवा एउटा दलबाट धेरै उमेद्ववारी दिएर अरुलाई रोक्ने, प्रचार प्रसारमा आउन उमेद्ववारी घोषणा गर्ने विविध विकृत रणनीति अपनाउने, पत्रिकामा उमेद्ववारी दिने देखि डमी सदस्य बनाउने, सदस्यता किन्नेसम्म प्रवृत्ति सुनिन आएको छ । 

लम्बेतान भाषण गरेर दिनभर भोज  भतेर चलाएर दिनहु उमेद्वारी घोसणा गर्नेहरुले आफु चुनावमा उठ्ने र जित्ने कुरा परिकल्पना गरेका त होलान तर तिनका कार्यक्रममा समय , स्रोत साधन खर्च गरेर जाने रमिते दर्शक दिर्घाले पनि गलत परिपाटीको पक्ष पोषण गरिरहेकोकुरा आलोचकहरु बताउने गर्दछन् । 

गैर आवासीय नेपाली संघकेन्द्रकू बिधानलाइ लत्याउदै अघोसित गुट र प्यानल निर्माण भएको बताईएको छ त्यसको लेखा जोखा हुन जरुरि छ ।

अनलाइन भोटिंग  सिस्टम बिकास गरेर मानिसहरुको श्रम, समय र शक्तिको सम्मान गर्दै  प्रविधिको सदुपयोग गर्दै जनमानसको कम  उपस्थितिमा बढी काम र प्रभावकारिता खोजिनु आवस्यक छ ।  अब घोसणा बाजी मिडियामा मात्र  सिमित हुन जरुरि देखिन्छ भने अनिवार्य रुपमा गैर अवासिय नेपाली संघ बेलायतको चुनाव स्रोत साधन र शक्ति बचत गर्दै अनलाइन भोटिंग सिस्टममा जान जरुरि देखिन्छ । यसपाली सम्भव नभए अर्को पालिका लागि अहिले आउने नेत्रित्वले एजेन्डा लिएर आउन जरुरी छ । 

उमेद्ववारी दिने जति सबैलाई ब्यवस्थापन गर्न स्थान दिइने देखि वर्तमान नेतृत्वलाइ नै दोहोरयाउने अवस्था सृजना गर्ने सम्मका बजार हल्ला सुनिन थालिएको छ । 

६ वटा उपाध्यक्ष, धेरै सचिव अनि जिम्मेवारीको अन्योल र बिगत एनआरएनले गरेको नेपाल हाउस प्रोजेक्टमा शिथिलता देखापर्नु, वर्तमान कार्यसमितिमा रहेक सदस्यहरु कोहि पनि भित्रि रुपमा सन्तुष्ट नरहनु, वर्तमान सदस्य संख्यामा ज्यादै न्यून संख्याले मात्र सदस्यता नवीकरण गर्नु जस्ता कुराहरु चुनावपछि सदस्यहरु र कार्यसमितिको दुरी अनि धेरै बेथितिका सूचक हुन् । 

च्यारिटीका कार्यक्रमहरु घाटामा जानु , सयौंको संख्यामा रहेका सल्लाहकारहरु नाम मात्र झुण्डाएर उल्टो संस्थाकै बदनामी गर्दै हल्लाहाकारमा परिणत् हुनु इत्यादी ।

एकै व्यक्ति आजीवन एकै पदमा लड्छु भन्दा पनि उक्साउने जमात रहनु । क्षमता नभएका व्यक्तिहरुलाई उक्साउने , गफ मात्र चुटेर आफ्नो स्वार्थ लुट्नेहरुलाई राम्रा ठानीएका व्यक्तिहरुले प्रयोग हेतुले अगाडी बढाउनु विकृतिका संरक्षक यहाँका समुदायको दोष पनि कम मान्न सकिन्न  ।

बित्तिय तथा अन्य रुपमा बाहिर बद्नाम भएका व्यक्ति पनि गैर अवासियन नेपाली संघमा आएर उमेद्वारी दिएर  संरक्षण खोजि रहेका पनि देखिन्छन । 

सोझा-सरल मनले समाजमा केहि योगदान गर्छु भनेर अग्रसरहरु व्यक्तिहरुलाई बिबिध आर्थिक व्यक्तिगत प्रलोभन संगै एक स्वार्थ समूहले दुरुपयोग गर्ने , र फोहोरी खेल खेल्ने , तिनलाई दबाब र प्रलोभन देखाएर आफ्नो काम लिने समूह पनि त्यतिकै सक्रिय रहेको बताइन्छ ।

चुनावको मुखमा मात्र मेम्बर बढाउने आव्हान , नविकरणको चटारोले नेपालमा झै जनतालाई भोट बैंक ठान्ने प्रवृति बेलायतमा पनि झल्किएको भान भएको छ ।  

एकातिर एक सामान्य गैर आवासीय नेपालीलाई किन मेम्बर बन्ने भन्ने प्रस्नको ब्यबहारिक उत्तर सिंगो संस्थाले दिन सकेको पाईदैन ।

गैर आवासीय नेपाली संघ बेलायतमा बिकृति भित्रयाउन एउटा पक्ष जति जिम्मेवार छ त्यतिनै हेरेर  हेरेर बस्ने यहाँको समुदाय पनि जिम्मेवार छ ।

चुनाव आइसकेको छ, हाल सम्म निर्वाचन समिति बनेको छैन ?  वर्तमान कार्यसमिति संगै समावेसी बनाईएको बिधानलाई अझै पनि बिधान समितिको ब्याख्या भन्दै गुम्हारहमा राखेर राज्य समितिमा मेम्बर बन्ने गतिबिधिलाई निरुत्साहित गरिएको छ । स्कटलेन्ड , आयरलेन्ड , वेल्सका गैर आवासीय नेपाली तप्कालाई राज्य समितिमा १-१ उपाध्यक्ष पाइने कुरामा बिश्वास छैन तसर्थ मेम्बरको अभियान सुस्त पाइएको छ | बरु ति राज्य समितिहरु फुटेर छुट्टै गैर आवासीय नेपाली संघ घोसणा गर्ने खतरा बढेर गएको छ । 

यी यावत बिकृति सम्बोधन गर्न पहल सुरुदेखि किन गरिएन भन्ने प्रश्नले कार्यसमिति र यहाको नेपाली समुदायको स्पस्ट सम्बन्ध बिच्छेदको अवस्थाको झल्को दिन्छ ।   

अवसरका कुरा 

बेलायतमा बढ्दो नेपालीहरुको शिक्षा र दक्षताको स्तर उपयोग गर्न, युवा पुस्ता र स्थापित पुस्ताहरुबीच बढेको पुस्तान्तरण समस्या कम गरि बढी भन्दा बढी युवाहरुलाई कार्यसमितिमा सामेल गरि उनीहरुको भूमिका र आत्मा विश्वासलाई स्थापित गर्ने अवसर छ । 

त्यस्तै गरेर महिलाहरुले हांकीरहेको मुलुक बेलायतको नेपाली संस्था पुरुष प्रधान देखिन्छ यसलाई सच्याएर महिला नेतृत्व विकास गर्ने ।

 बेथिति र विसंगति चिर्न पद्दति र पारदर्शिता अनि कार्यगत एकता र सामूहिक नेतृत्वको विकास गरेर सम्पूर्ण जात, क्षेत्र, धर्ममा विभक्त समाजलाई समन्वय गरेर एउटा मालामा गांस्ने देखि यहां रहेका हरेक नेपालीहरुलाई दूतको रुपमा भूमिका निभाउन प्रोत्सान गर्ने, व्यापार ब्यबसायलाई यहां स्थापित गर्न सहयोगी भूमिका खेल्ने, नयां संबिधानको कार्यान्वयनसंगै खुलेको विकासको ढोकालाइ टेवा पुरयाउन यहांको सिप ज्ञान नेपालसम्म प्रसार गरेर समग्र नेपाल र नेपालीहरुको प्रवर्धन गर्ने उच्च लक्ष्य हासिल गर्न सकिने देखिन्छ ।

चुनिएका प्रतिनिधिले काम गर्न नसक्नेगरि चन्दा र भत्ता असुली गर्ने, अक्षमहरुलाई पोस्ने र सक्षमहरुलाई निरुत्साहित गर्ने सबै विकृत प्रवृतिहरुलाई सन्तुलनमा ल्याउन संस्थागत विधिविधान फेरबदल गरेर वा विभिन्न दीर्घकालिन रणनीतिक कार्यक्रमहरु मार्फत एनआरएनए यूके अगाडि बढ्नु पर्ने देखिएको छ । संघसंस्थालाइ व्यक्तिगत भन्दा संस्थागत सहयोग गरेर कार्यसमितिका सदस्यहरुलाई आर्थिक मार बाट बचाउन सकिन्छ ।

वर्तमान कार्यसमितिले जांदा जांदै एउटा अनलाइन सर्भे गरेर आफ्नो काम, संस्थाको मुल्यांकन र जनअपेक्षाको सर्वे गरेर सोअनुरुप सुधारको पहल अघि बढाइदिए उत्तम हुने थियो ।

माथिका तमाम प्रवृतिहरुको विश्लेषण बाबजुद बेलायतमा बढ्दो नेपाली समाजका आवश्यकता, उनीहरुको हकहितको रक्षा गर्दै नेपाल र बेलायतबीच नेपाली समुदायको पुल भएर भूमिका खेल्नु पर्ने बहुउद्देश्य बोकेको संस्थामा पैसा, जातपात र राजनीति भन्दा माथि उठेर ठूलो तस्बिर देख्न सक्ने ब्यक्तित्व अहिलेको एनआरएनएमा आवश्यक देखिएको छ ।

नेपालमा बढेको जस्तै जातजाति, क्षेत्र, धर्मको राजनीति, मनी, मसल र मिडिया पावरले चुनाव जित्ने प्रवृतिलाई बेलायत एनआरएनएमा निरुत्साहित गरेर नेपालमा सम्म एउटा गतिलो नमुना नेतृत्व प्रदर्शन गर्ने जिम्मेवारी बेलायतको नेपाली समाजमा कांधमा आएको छ ।

दलीय भागबण्डा, तेरो मेरो हाम्रो र मिलाएर जाने मिल्ने प्रवृतिमा अनावस्यक सौदा बाजी गरिनु भन्दा लोकतान्त्रिक अभ्यासबाट मुद्धा केन्द्रित उमेद्ववारीलाई चुन्ने परिपार्टीको थालनी गर्ने र विगतका त्रुटीहरु सच्याउने अवसर फेरी एकपटक बेलायतको नेपाली समुदायलाई प्राप्त भएको छ, यसको सदुपयोग वा दुरुपयोग हुने निक्र्याेल अबको २ महिनाले गर्नेछ ।

लेखक कार्की गैर आवासीय नेपाली संघ बेलायतका सल्लाहकार हुन् | उनि नियमित रुपमा www.jagankarki.com.np मा लेख्ने गर्दछन
Twitter @jaganbimal

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

करेन्ट लागेर मजदुरको मृत्यु

बेनी : जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा

Read More...

राजतन्त्र पुनस्र्थापना हुने खतरा बढ्यो : केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको

Read More...

सफल ब्यबसायी तथा समाजसेवी शकुन गुरुङको सह-कोशाध्यक्षमा उमेद्वारी

ब्यबसायी तथा समाजसेवी शकुन गुरुङले आसन्न गैर आवासीय नेपाली संघ बेलायतको सह-कोशाध्यक्षमा उमेद्वारी दिएकी छन् । एक सफल महिला

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu