लण्डन — गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले आकर्षक जागिर लगाईदिने भन्दै ठगि गर्ने हरुसंग बच्न नेपाल सरकार र कूटनीतिक निकायहरुसंग निकट सहकार्य जरुरी भएको बताएका छन् ।
गैर आवासीय नेपाली संघ माल्टाको पहिलो साधारण सभालाइ संबोधन गर्दै आचार्यले माल्टा
अहिले युरोप आउन चाहने नेपालीहरुको आकर्षणको केन्द्र पनि बन्न पुगेको र सात सयजना भन्दा बढीलाई माल्टा पठाइदिने भन्दै ठगी गरेको समाचार प्रकाशमा आएको जनाए ।
“त्यस्ता प्रकरणमा एजुकेशनल कन्सल्टेन्सीहरु संलग्न भएको पाइएको छ। माल्टा पुगेपछि तीन महिनामा युरोपभरि जान मिल्ने खालको कार्ड पाइन्छ, १,००० यूरो मासिक तलब पाइन्छ, तीन महिनापछि डिपेन्डेन्टमा श्रीमती पनि लान पाइन्छ भन्ने जस्ता आश्वासन दिने गरिएको सुन्नमा आएको छ। यस्ता गलत सूचनाहरुलाई चिर्न हामीले नेपाल सरकार र कूटनीतिक निकायहरुसंग अरु निकट सहकार्य गर्न जरुरि छ,” उनले भने। “त्यस्तै इयुको नियम के हो, माल्टाको नियम के हो, यसबारे साथीहरुले पनि सामाजिक संजालबाट, मिडियाबाट जानकारी गराउनु पर्यो।”
युरोपेली संघको सदस्य मुलुक माल्टाको जनसंख्या झन्डै ५ लाख छ, तर वर्षेनी ३० लाख पर्यटक आउंछन्।
हामीले भिजिट नेपाल इएर २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष राखेका छौं। नेपाल सरकारको यो अभियानमा संसारभरि फैलिएका ५० लाख नेपालीले हातेमालो गरेर अगाडी बढ्यौं भने यो लक्ष प्राप्त गर्न असम्भव छैन।
खास गरी नयाँ पर्यटकीय गन्तव्यहरुको विकास गरी पर्यटकहरुको बसाई लम्ब्याउने तथा उनीहरुले गरेको खर्च बाट स्थानीय समुदाय समेत लाभान्वित हुन सकुन् भन्नेतर्फ हामीले अलि बढी जोड दिनु पर्छ, आचार्यले भने।
उनले एनआरएनहरुको नेपालमा रहेको सम्पत्ति सुरक्षाको विषय र गैर आवासीय नेपाली नागरिकताको विषयबारे पनि बोलेका थिए ।
सबै भन्दा पहिले त नागरिकता ऐनले भनेको गैर आवासीय नेपाली नागरिकको सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ। त्यस्तै नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ति गैर आवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुने छ भन्ने प्रस्ट खुलाउन जरुरी छ। त्यस्तै भूतपूर्व गोर्खाहरुको लागि पनि विशेष व्यबस्था हुनुपर्छ हामीले भनि रहेका छौं, आचार्यले बताए।
“जहाँ सम्म नेपालमा रहेको हाम्रो सम्पतीको सुरक्षाको कुरा छ, गैर आवासीय नेपाली नागरिकता लिए पनि वा नलिए पनि हाम्रो सम्पति सुरक्षित रही रहन्छ । अहिलेको संविधान र नियम कानूनले नै त्यसको ग्यारेन्टी गरेको छ । त्यसैले आत्तिएर सम्पती बेच बिखन गर्नु पर्ने अवस्था छैन । गैर आवासीय नेपाली सम्बन्धी ऐनले पनि त्यसको प्रत्याभूति गरेको छ ,” उनले भने।
उनले सबै साथीहरुलाई कानून नबन्दासम्म चनाखो रहन र लबी गरिरहनु आग्रह पनि गरे ।
कार्यक्रममा मन्तब्य राख्दै आचार्यले एनआरएनए एनसीसी माल्टाका नवनिर्वाचित अध्यक्ष राजु अर्याल (बाबु), आइसीसी सदस्यमा निर्वाचित तेज बहादुर लिम्बु लगायत सम्पूर्ण टिमलाई बधाइ तथा शुभकामना पनि व्यक्त गरे ।
एनआरएनको आगामी अधिवेशनमा केन्द्रिय अध्यक्षको लागि उम्मेदवारी दिने बताई सकेका आचार्यले बुधबार न्यु योर्क, बिहिबार टेक्सास डल्लासमा तथा शुक्रबार क्यानाडाको टोरन्टो पुगेर साथीहरुसंग समसामयिक विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताएका छन्।