भीमदत्तनगर, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनले जनतालाई अझ बढी सर्वशक्तिमान् बनाउने बताउनुभएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज आयोजित नेपाली काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले नगरपालिका र गाउँपालिकाको चुनाव जनतालाई बलियो बनाउने चुनाव रहेको बताउनुभयो ।
चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक कञ्चनपुर आउनुभएका प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले जहिले पनि जनतालाई मालिक र सार्वभौमसत्ता सम्पन्न मान्दै आएको बताउँदै धेरैपछि हुन लागेको निर्वाचन उत्साहवद्र्धक छ भन्नुभयो ।
नेपाली काँग्रेसले विसं २००७ मा राणा शासन हटाएर जनताको अधिकारी ल्याउनदेखि राजा हटाएर गणतन्त्र ल्याउनेसम्मको काम गरेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “जनतालाई मालिक मान्ने र प्रजातान्त्रिक पार्टी काँग्रेसबाहेक अरु छैनन् । ”
सुदूरपश्चिममा पछिल्ला दिनमा सडक, पुललगायत पूर्वाधार विकास हुदै आएको बताउँदै उहाँले यहाँको सुकुम्बासी र आरक्ष विस्थापितको समस्या आयोग गठन गरी टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस