यी हुन् प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य

In नेपाल, मुख्य समाचार

सुर्खेत, २६ माघ – राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् ।

महिला तथा खुला सदस्य तीन-तीन र अपांग-अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट खुलातर्फ जाजरकोटका कालीबहादुर मल्ल, महिलातर्फ मुगुकी युटुल तामाङ र अपांग-अल्पसंख्यकतर्फ कालीकोटका जीवनबहादुर बुढा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

एकल संक्रमणीय प्रणालीअनुसार खुला तथा महिलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी उहाँहरु विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी, बहुमतीय प्रणालीअनुसार अपांग-अल्पसंख्यक र दलित सदस्य निर्वाचित भएका थिए ।

उपप्रधानपञ्चदेखि राष्ट्रियसभा सांसद सम्म  

कालीकोटका नरपति लुहार राष्ट्रियसभाको सदस्यको निर्वाचनमा वाम गठबन्धनका तर्फवाट प्रदेश ६ बाट विजयीको खाता खोल्न सफल राष्ट्रियसभाको सदस्य हुनुभएको छ । राष्ट्रियसभाको सदस्यमा विजयी नरपति लुहार उपप्रधानपञ्च, वडाध्यक्ष हुँदै राष्ट्रियसभाको सांसद बन्नुभएको छ । बहुदल आएपछि एमालेको राजनीतिमा लाग्नुभएका लुहारलाई नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्यका उम्मेदवार बनाएको हो । २०४४ सालमा कालीकोट जिल्लाको स्युना गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उहाँ विजयी हुनुभएको थियो ।

२०५४ सालमा साविकको स्युना गाविसमा एमालेबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो । २०५३ सालमा एमालेको कालीकोट जिल्ला कमिटी सदस्य हुनुभएका लुहार हाल एमाले निकट जातीय मोर्चाको जिल्ला अध्यक्ष र कालीकोट जिल्ला कमिटी सदस्य हुनुहुन्छ । राष्ट्रिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ६ नं प्रदेशबाट विजयको खाता खोल्न सफल लुहारले तीन हजार ६६६ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मित्रलाल सार्कीलाई पराजित गर्नुभएको थियो ।

जनसेनाको कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्य  

प्रदेश ६ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित नरहरिनाथ गाउँपालिका–२ कालीकोटका जीवनबहादुर बुढा तत्कालीन नेकपा (माओवादी) जनयुद्धका सेना कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्यमा चुनिनुभएको छ । सानैमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका बुढा २०५२ सालमै पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।

२०५३ कात्तिकमा छापामार दलको सदस्य हुँदै बुढा माओवादी जनासेनामा भर्ना हुनुभएको थियो । बुढा २०६० सालमा माओवादी जनसेनाका बिग्रेड कमाण्डर हुँदै २०६१ को अन्तमा सातौँ डिभिजन सहकमाण्डर बन्नुभएको थियो । शान्ति प्रक्रियासँगै भएको माओवादी सेनाको व्यवस्थापन हुँदा उहाँले क्यान्टनमेन्टमा सेनाको नेतृत्व गर्नुभयो ।

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा सचिवालयमा रहेर काम गरिसक्नुभएको छ । उहाँ अहिले नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुहुन्छ । सेना हुँदाका सबै साथीहरुले समायोजन रोज्दा आफूले राजनीति रोजेको उहाँले बताउनुभयो । “म राजनीति गर्न युद्धमा गएको हो, जागीर खान होइन, त्यसैले मैले सेना समायोजन प्रक्रियालाई अँगालिन,” उहाँले भन्नुभयो ।

शिक्षक जागिर छोडेर राष्ट्रिय सभा सदस्य 

भेरी नगरपालिका–४ जाजरकोट निवासी कालीबहादुर मल्ल नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हुनुहुन्छ । २०३४ सालदेखि शिक्षक पेशामा लागेका उहाँ २०४३ मा जागिर छोडेर राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन शुरु गर्नुभएको थियो । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको सदस्यमा निर्वाचित हुनुभएको उहाँ २०५२ सालदेखि नेकपा (माओवादी) राजनीतिमा होमिनु भएको थियो ।

२०६४ सालको संविधानको सभाको निर्वाचनमा विजयी हुनुभएका उहाँले यस पटक राष्ट्रियसभा निर्वाचनको खुला सदस्यमा जित हात पार्नुभएको छ ।

त्यसैगरी, जाजरकोट भेरी नगरपालिका–४ निवासी भैरवसुन्दर श्रेष्ठ मावि स्थायी शिक्षकको जागिर छोडेर २०४७ सालमा राजनीतिमा लाग्नुभएको हो । श्रेष्ठ तत्कालीन नेकपा (माले)को संस्थापक जिल्ला संयोजक हुनुभयो । निरन्तर पार्टी संगठनको राजनीति गर्दै आउनुभएका श्रेष्ठ नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो ।

श्रेष्ठ २०४९ मा जिल्ला विकास समिति जाजरकोटको उपसभापति र २०५४ सालमा सभापतिमा निर्वाचित हुनुभएको थियो । पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दैगर्दा अनेरास्ववियूबाट राजनीति यात्रा शुरु गर्नुभएकाले उहाँ यस पटकको राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित सदस्य मल्ल र श्रेष्ठ दुवै एउटै वडाका हुनुहुन्छ । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको उपसभापतिमा श्रेष्ठ र सदस्यमा मल्ल निर्वाचित हुनुभएको थियो । मितेरी नाताका दुवैले २५ वर्षपछि पुनः एकै सभामा निर्वाचित हुनुभएको छ ।

जिविस उपसभापति हुँदै राष्ट्रियसभा सदस्य 

एमालेको विद्यार्थी तथा युवा राजनीतिबाट पार्टी राजनीतिमा आउनु भएका ठगेन्द्र पुरी रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका निवासी हुनुहुन्छ । पुरी एमालेका तर्फबाट २०५४ सालमा जिविस रुकुमको उपसभापतिमा जित्नुभएको थियो । पार्टीको तत्कालीन रुकुम जिल्ला कमिटी अध्यक्ष हुँदै निरन्तर राजनीतिमा लाग्नुभएका राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित उहाँ हाल एमाले ६ नं प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

कविता बोगटी अदानचुली गाउँपालिका–२ हुम्ला निवासी हुनुहुन्छ । उहाँ नवलपरासीमा उच्च शिक्षा पढ्दै गर्दा अनेरास्ववियु हुँदै अनेम संघबाट पार्टी राजनीतिमा लाग्नुभएको थियो । हाल उहाँ एमाले निकट कर्णाली–काठमाडौँ सम्पर्क मञ्चको सदस्य हुनुहुन्छ । वाम गठबन्धनका तर्फबाट राष्ट्रियसभाको महिला सदस्यमा निर्वाचित हुनुभएको छ ।

लामा समुदायबाट पहिलो महिला सदस्य 

युटुल तामाङ (लामा) मुगु जिल्लाको कार्मारोङ गाउँपालिका निवासी हुनुहुन्छ । उहाँ मुगु जिल्लाको लामा समुदायबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित पहिलो महिला सदस्य हुनु भएको छ । माओवादी केन्द्र निकट अनेम संघ (क्रान्तिकारी) हुँदै पार्टी राजनीति सुरु गरेकी उहाँ संघको मुगु जिल्ला अध्यक्ष हुनु भएको थियो ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी) निकट उहाँले लामा मुक्ति मोर्चाको सचिवका रुपमा काम गर्नुभएको थियो । २०६४ सालको संविधानसभाको समानुपातिक सदस्यमा निर्वाचित तामाङ हाल नेकपा (माआवादी केन्द्र)को महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ ।

पञ्चायतविरुद्ध लडेकी शर्मा पनि सदस्य 

सुर्खेतका ग्रामीण भेकमा तत्कालीन पञ्चायती शासनविरुद्ध भूमिगत संघर्ष गर्दै आउनुभएकी नन्दा शर्मा (चपाई) पञ्चपुरी गाउँपालिका–३ सुर्खेत सालकोट निवासी हुनुहुन्छ । उहाँ वाम गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको महिला सदस्यमा निर्वाचित हुनु भएको छ ।

२०३५-०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेकी शर्मा अनेम संघको जिल्ला अध्यक्ष हुँदै हाल नेकपा (एमाले) को ६ नं प्रदेश कमिटी सदस्य तथा अनेम संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।

शुरबहादुर सिंह, दिपेन्द्र शर्मा/रासस  

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu